प्राकृतिक सुन्दरता र ऐतिहासिक थलोले भरिपूर्ण नुवाकोट जिल्ला बागमती प्रदेशका विभिन्न बाह्र वटा जिल्लाहरु मध्येको एक मनोरम पहाडी जिल्ला हो । लिच्छवी कालिन राजा गणदेवको पालाको प्राप्त शिलालेखमा उल्लेख भएको “कोट” भन्ने शब्दले “किल्ला” भन्ने बुझाउँदछ । त्यस्तै गरी मल्लकालका धेरै सामग्रीहरुमा नवक्वाथ भन्ने शब्द उल्लेख भएको पाइन्छ । कोट शब्दलाई नै नेवारी भाषामा क्वाथ भनिएको हो । नवक्वाथ भन्नाले नौकोट किल्ला भन्ने बुझिन्छ र यही नौवटा प्रसिद्ध किल्ला अर्थात कोटबाट नुवाकोट भन्ने शब्दको उत्पति भई यस क्षेत्र वा जिल्लाको नाम नुवाकोट रहन गएको ऐतिहासिक पृष्ठभूमि भेटिन्छ । नौवटा कोट अन्तर्गत प्यासकोट, धुँवाकोट भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैवुङ्गकोट, बेलकोट र मालाकोट पर्दछन् ।

ऋषिहरु बस्ने भएकाले ऋषि पत्तन पनि भनिने यस नुवाकोटको धेरै दृष्टिकोणले महत्व छ । ऐतिहासिक रुपमा दोस्रो राजधानी, एकिकृत नेपालको एकिकरण प्रारम्भ स्थल, पृथ्वीनारायण शाहले राज्य सञ्चालन गर्न बनाएको ऐतिहासिक दरवार आदिको पनि चर्चा सदैव हुने गर्दछ । नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म यस जिल्लालाई पश्चिम १ नं. भनेर पनि चिनिन्थ्यो । यस जिल्लाको भौगोलिक विविधताले गर्दा तराईदेखी उच्च पहाडी क्षेत्रसम्मको वातावरणीय र जैविक विविधता यहाँ पाइन्छ । त्रिशुली नदीको प्रसिद्ध तथा त्रिशुलीको राम मन्दिर, देवीघाटको जालपादेवी, विदुरको वनदेवी तथा भैरवीदेवी, बेत्रावतीमा पर्ने चारगया मध्येको एक उत्तरगया, कविलासको नाट्यश्वरी, त्रिशुलीको सुंगतपुर विहार, मस्जिद, कम्देलिङ्ग गुम्बा, दुप्चेश्वर महादेव मन्दिर जस्ता तिर्थस्थलहरुले नाम चलेको यो जिल्ला प्राकृतिक स्वरुप र कृषि उत्पादनको लागी ठुलो सम्भाव्यता भएको जिल्लामा पर्दछ । परापूर्व कालदेखि नै भारत र स्वश्वासित क्षेत्र तिब्बत सँगको व्यापारिक मार्गको रुपमा रहेको जिल्ला भएर नै अहिले पनि मानिसहरु तिब्बत, रसुवाको गणेश हिमाल, गोसाईकुण्ड आदि ठाउँमा जाने गर्दछन् । यहाँको ऐतिहासिक तारुकाको गोरु जुधाई जात्राले पनि यस जिल्लाको ऐतिहासिक सुन्दरतामा आयाम थपेको छ ।

ज्यामितिय हिसाबमा नुवाकोट जिल्ला उत्तरी अक्षांश २०° ४५’ देखि २८° २०’ सम्म र पूर्वी देशान्तर ८५° ०’ देखि ८५° ४५’ सम्म फैलिएको छ भने भू-बनोट जिल्लाको सबैभन्दा होचो भाग दक्षिणको त्रिशुली नदी किनारमा रहेको महादेवफाँट भन्ने स्थान ४५० मिटर (समुन्द्र सतहबाट) र सबैभन्दा अग्लो भाग दुप्चेश्वर गा.पा. घ्याङ्गफेदीको उत्तरी सिमानाको तिनचुली भन्ने स्थान ५, १४४ मिटर उचाई सम्म फैलिएको छ । उचाइको विविधता सँगै यस जिल्लामा अत्यन्त गर्मी हुने उपोष्ण हावापानी पाइने क्षेत्रदेखि स्थाई हिउँरेखा भन्दा माथिसम्म फैलिएको हुँदा यस जिल्लाको भू-बनौट, हावापानी, बनस्पति, वन्यजन्तु, माटो तथा अन्य जनजिवन र क्रियाकलाप अत्यन्त विषम छ ।

पूर्वः सिन्धुपाल्चोक जिल्ला,

पश्चिमः धादिङ जल्ला,

उत्तरः रसुवा जिल्ला,

दक्षिणः धादिङ र काठमाणडौं जिल्ला

जनसांख्यिक झलक

कुल जनसंख्या: २,६३,३९१

कूल परिवारहरु: ६८,६७९

कूल साक्षरता दर: ६९.१%


नुवाकाेट जिल्लाकाे स्थानीय तहहरू

विदुर नगरपालिका

बेलकाेटगढी नगरपालिका

ककनी गाउँपालिका

पञ्चकन्या गाउँपालिका

लिखु गाउँपालिका

दुप्चेश्वर गाउँपालिका

शिवपुरी गाउँपालिका

तादी गाउँपालिका

सूर्यगढी गाउँपालिका

तारकेश्वर गाउँपालिका

किस्पाङ गाउँपालिका

म्यागङ गाउँपालिका